गोविन्द सिंह रावत – अस्वभाविक यथार्थ
दिनभरीको कार्य थकाईले
साँझ सोफामा टुप्लुक्क पल्टे पछि
कष्टमय वर्तमानलाई बिर्सन
सुखमय भूतको कल्पनामा हराउन खोज्छु
अनि अन्धकारमय भविष्यको परिकल्पनामा
आफैलाई सान्त्वना दिन थाल्छु
न सोचेको अमीलो सत्यतामा
जीवनको परिभाषा पहिल्याउन
असफल प्रयास गर्दागर्दै
थाकेको म विचारा
सुखको झिनो आसमा
डुबुल्की मार्दै
त्यसमै निदाउने प्रयत्न गर्छु
एउटा मीठो सपना देख्नलाई
क्षणिक सुखको अगाडी
अस्वभाविक यथार्थता खोज्न थाल्छु।