Hari Govinda Luitel – Asina [Nepali Bal Kabita]

आकाशबाट हिउँका
मसिना र मझयौला
सेता गेडा बर्सिए
केटाकेटी तर्सिए ।
चिसा गेडा बर्सिए
केटाकेटी तर्सिए ।

ट्वाप्लाक्टुप्लुक् कौशीमा
टाङ्टाङ्टुङटुङ छानामा
पालीमा र आँगनमा
सेतै भयो बारीमा
पाखामा र पाटामा
सेतै भयो नालीमा ।

ऐरया बाबा ! तालुमा
टुटुल्को नै उठायो
आत्त्थु बाबा ! चिसोले
हत्केला नै ठिर्यायो
हेर्दाहेर्दै दुब्लायो
पानी भयो, बिलायो ।

हिउँको गोलो मट्यांग्रो
कसरी होला बना’को –
आकाशबाट यसरी
कसले होला पठा’को –
फूल, पात झार्नलाई
कसले होला लगा’को –