Chanki Shrestha – Ardha Satya

दुनियाँमा यसरी व्याप्त हुन्छ अर्धसत्य
जसरी प्रत्येक दिन व्याप्त हुन्छ घाम ।

प्रत्येक रात
हामी हाम्रा नानीहरूलाई सुनाइरहेका हुन्छौँ लोरी
प्रत्येक भेटमा
नेताजी सुनाइरहेका हुन्छन् उज्ज्वल भविष्यको सपना
प्रत्येक भेटमा
साहुजी देखाइरहेका हुन्छन् गुणस्तर प्रमाणचिह्न
र, प्रत्येक भेटमा
वकिल महोदय देखाइरहेका हुन्छन् न्यायको सपना ।

न्यायाधीश, कवि
डाक्टर, पत्रकार भौतारिइरहेका हुन्छन् सत्यको खोजीमा
तर, पालना गरिरहेका हुन्छन्
प्रत्येक पल अर्धसत्यको सनातन धर्मर्
अर्धसत्यबिना संसार चल्छ भन्ने
तिनलाई रतिभर विश्वास छैन ।

प्रजातन्त्र
मानवअधिकार
संविधान
र्सार्वभौमसत्ता
न्याय
नीति-संस्कृति
व्यापार
विनिमय जताततै व्याप्त छ अर्धसत्य
लाग्छ- अर्धसत्यबिना समाप्त हुनेछ तिनको अस्तित्व ।

फेरि प्रत्येक युगमा युधिष्ठिर
एकपटक अर्धसत्य बोल्छ
र, शोकाकूल द्रोणाचार्य ढल्छ
फेरि फेरि अर्धसत्यले यसरी संसार चल्छ ।