Seema Abhash – Ansha

सीमा आभाष – अंश

अंश लैजानु,
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको मकैबारी
पछ्यौरीले छोपेको
सोलीको कोदाको बीउ
आँगनको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
खेतमाथि बगेको बाढी
घरपर्तिरको खहरे
रित्ता किला-दाम्ला

लैजानु,
भूतले तर्साउने खोल्सो
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर टीका गर्ने बिर्के ऐना
बाँसको काइँयो

लैजानु,
गोल्चे लगाएको सन्दुकमा
पुखार्ंैदेखि लुकाएका अभाव
वर्षौंदेखि बगेको पसिना
छानोमाथि फैलने बादलको टुक्रा
बूढो आँपको रूख
बल्न नपाएको अँगेनो
भरिन नपाएको गाग्रो
काँक्राफर्सी बेरिन नपाएका थाङ्ग्रा

लैजानु,
पानी नतर्ने घरको धुरी
करेसामा रोपेको घामफूल
बार्दलीमा झुण्ड्याएका
सयपत्री र मखमली माला
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली र फिपी
खुर्पा र कोदाली
पुर्खाले आर्जेको दुःख

लैजानु,
हिँड्दाहिँड्दै थाकेको गल्ली
मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानु मसँग भएका
यी सबै सबै…!

सीमा आभास