प्रल्हाद पोख्रेल – अक्षर
(मधुपर्क २०६६ जेठ)
देखौँ अक्षरका ताँती लेखौँ अक्षरकै कुरा
मातौँ अक्षर खाएर पिएझैँ लठ्ठ भै सुरा
पढौँ अक्षरका भाषा भोगौँ अक्षर-जीवनी
पाई अक्षरकै साथ रमाओस् लेखनी पनि ।
दर्कोस् अक्षरको वषर्ा चलोस् अक्षरकै भल
उर्लोस् अक्षरकै बाढी बगाई चित्तको मल
भन्छन् अक्षर हुन् ब्रहृम, परमात्मा र ईश्वर
गरे अक्षरकै ध्यान पाइन्छन् जगदिश्वर ।
ज्ञानगोष्ठी चलून् धेरै गरी अक्षर-आरती
धानी अक्षरकै धन्दा लेखियून् कविताकृति
हिडौँ अक्षर टेकेर उडौँ अक्षर-यानमा
लागौँ अक्षरकै खेती सपार्ने अभियानमा ।
सुघौँ अक्षरको मीठो बासना मग्मगाउने
बालौँ अक्षरको बत्ती ज्योत्स्नाझैँ जग्मगाउने
फुकौँ अक्षरको आगो दन्दनी हुर्हुराउने
पिऔँ अक्षरकै पानी जवानी जुर्मुराउने ।
हिँडे अक्षरको बाटो रोकिन्न कहिल्यै गति
रोजे अक्षरको क्षेत्र निरन्तर छ उन्नति
शङ्का अक्षरमा छैन त्रास-चिन्ता-व्यथा-खति
लङ्का मात्रै कहाँ हो र! जितिन्छ अमरावती ।
हाँके अक्षरका सेना हारिन्न कहिल्यै रण
तानी अक्षरकै ताँदो जितौँ सङ्ग्राम भीषण
बोकी अक्षरका झण्डा क्रान्तिमा होमिऔँ सब
चढी अक्षरकै डुङ्गा ज्ञानगङ्गा तरौँ अब ।
चुहिँदैन कतै तप्प अविनाशी छ अक्षर
गतिमान ऊध्र्वगामी छ अग्रगामी निरन्तर
हिडौँ अक्षरकै बाटो चिन्तामुक्त सरासर
जराजीर्ण हुँदै हुन्न अजरामर अक्षर ।