प्रविन खालिङ – अचेल साइरन बजेको छैन
आमाहरू बोतलमा फिक्का चिया भर्दैनन्,
मुखको गॉंस घॉंटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन्
अचेल साइरन बजेको छैन।
नागा हुने त्रास छैन, हक छुट्टीको लोभ पनि छैन
मुनाहरू त्यसै हुर्किन्दैछन्।
सुस्ताएरै बिहान बित्छ,सुस्ताएरै दिन
गोलाई टारमा तौलाईमा भेला हुनुपर्दैन
ठीका नपुगे दुःखी हुनुपर्दैन, अचेल घुमौरी खेल्नपर्दैन
न त राशन थाप्नुको हतार छ
अचेल भिघा पनि लागेको छैन।
उनीहरूसित त्यस्तो केही छैन र,नै धेरै छ
सास कष्ट, जुन जिन्दगीको अवधिभन्दा धेरै छ।
नानीहरू पाठशाला गइरहेकै छन्, धुराभरि केटाहरू रङ्गालिरहेकै छन्
कसैलाई केही भएको छैन
यत्ति हो अचेल साइरन बजेको छैन।
प्रत्येक पहरहरूमा हुकुम बजेको छैन।
प्रत्येक श्वास-प्रश्वासमा
शोषणको गन्ध आउँदैन
मान्छेहरू कामविहीन भएरै पनि, बॉंचिदिन खोज्दैछन्
मालिकबिनै पनि हॉंसिदिने सोच्दैछन्
गाउँमा अभाव छ
चेतनाको प्रभाव पनि छ
यत्ति मात्रै हो, अचेल काम लागेको छैन
टायम-टायममा साइरन बजेको छैन।
(बन्द चियाबारीका मेरा आफन्तहरूको नाममा समर्पित)