Chanki Shrestha – Aba Satya Lai Pani Sakshi Chahiyeko Chha

अब सत्यलाई पनि
सत्य सावित हुन साक्षी चाहिएको छ
घामलाई घाम हुन
जूनलाई जून हुन
आकाशलाई आकाश हुन साक्षी चाहिएको छ ।

यद्यपि दूर क्षितिजबाट ओर्लिएको घामको उज्यालोसँगै
जिन्दगीको शाश्वत सत्यको खोजीमा हिँडिरहेका छन् मानिसहरू
तर, सत्य र उज्यालोकै अस्तित्वमा प्रश्न पनि उठाइरहेका छन् ।

अब कविताले मात्र
कविलाई कवि सावित गर्न सक्दैन
अब कविलाई कवि हुन
गायकलाई गायक हुन
र, मान्छेलाई मान्छे हुन पनि साक्षी नै चाहिएको छ ।

यद्यपि साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको परिभाषा
साक्षीले धेरैपल्ट फेरिदिएको छ सत्यको रङ
साक्षीकै कारण धेरैपल्ट बन्दी भएको छ सत्य
अब सत्य नै साक्षीको खल्तीको रूमाल भएको छ ।