(हामी कसैका होइनौ, कोही हाम्रा होइनन्
हामी सत्य र ठीकका, सत्य र ठीक हाम्रा -रूपचन्द्र विष्ट ।)
एक जुगदेखि
जीवनको शाश्वत सत्य बोकेर हिँडिरहेको थिएँ आवाजमा ।
एक जुगदेखि नै
म आफ्नो ब्रह्म
आवाजसँगै बोकेर हिँडिरहेको थिएँ
तर, मानिसहरू
मेरो आवाजको हत्या गर्न चक्रव्यूह बुनिरहेका थिए ।
त्यस दिन
म आफ्नो आवाजको अत्यधिक प्रेमले पागल भएको थिएँ
र, आत्माको हत्याविरूद्ध
आत्महत्या गर्न हिँडेको थिएँ ।
तिमीलाई पनि थाहा हुनुपर्छ-
मान्छे मर्दैमा उसको आवाजले बोकेको सत्य मर्दैन
हो, आत्महत्या गर्नुअघि
तिमीलाई भेटेर भन्न चाहेको थिएँ
कि सबै आत्महत्याहरू निर्रथक हुँदैनन्
सबै आत्महत्याहरू पलायन हुँदैनन् ।
एक जुगदेखि
जीवनको शाश्वत सत्य बोकेर हिँडिरहेछु आवाजमा ।