दीपेन्द्र के.सी. – आस्था र परिभाषा दशैंको
अव !
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
जव !
तिम्रो मुहार हेर्छु
के चम्किन्छ र ? दशैं त्यहाँ
शुभकामनाहरुका प्रकाशले ।
बर्षायाममा पानीले चुटिएको पहाडझैं
हरक्षण पखालिएर बगेका छन् अपूरा खुशीहरु
हरक्षण भत्किएका छन् अपूरा इच्छाहरु
सत्य र विजयको आस्थामा लत्रदैं
कति धेरै भ्रमहरु साटीरहें शुभकामनाका
मात्र यो आउँछ र जान्छ
छोडेर यथास्थिति !
अघिल्लो साँझ–
दशैंको मीठो कल्पनामा
असँख्य ताराहरु जस्तै
उज्याला रहरहरु सँगै निदाएर
विहान –
रित्तो दशैं व्यहोर्ने वालकहरु
पशुपतिका भिकारीहरु
जमीन्दारका हलियाहरु
साहुजीका नोकरहरु
मुखियाका गोठालाहरु
दशैंको जड्यौरीमा
नमिलेका कपडाहरु पहिरिएर
दशैंको सन्देश छर्दै
जव वीच सडकमा हात पसारेर
ङिच्च दशैं माग्छन्
अनि
फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
यसपालि तिमी–
जाउ केहीक्षण र,
वास्तविक दशैं मनाउ त्यहाँ
बसेर पुछारमा राज्यसत्ताको
यसपालि म –
दशैं मनाउँछु
वसेर केहीक्षण सिरानमा राज्यसत्ताको,
त्यसपछि त वास्तवमै
अर्थ रहदैन होला
रौनकता, माहोल, महत्ता र औपचारिकताहरु
विजया दशमीको
त्यसैले त,फेरिदिन मन लाग्छ
आस्था र परिभाषा दशैंको ।
विजया दशमी २०७०
बागलुङ, हाल ः ओस्टण्डे बेल्जियम ।