Gopal Jhapali – Aaja Sagarmatha Hocho Bhayeko Chha

गोपाल झापाली – आज सगरमाथा होचो भएको छ

यो होचो संसारालाई धिक्कार छ,
अनि आफ्नो उचाईको घमण्डले संसारलाई किचेको सरगमाथालाई पनि धिक्कार छ ।
सगरमाथा तँ त आज म भन्दा पनि होचो भएको छस्,
मेरो पैतालमा परेको तँ, तेरा टाउका माथि उभिएको छु म ।
८ हजार ८ सय ४८ मिटरको तेरो उचाई आज होचिएको छ,
तँ माथि उभिएको मेरो उचाई झण्डै तँ भन्दा २ मिटर माथि उचालिएको छ ।
सगरमाथा भएकै कारण केचनालाई आँखा तर्ने धमास मेरा पाईतालामा मुनि पुगेको छ,
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।

यो उचाई सधैका लागि मेरो हुनेछ,
अर्थात सगरमाथा म भन्दा होचो र म सगरमाथा भन्दा अग्लो भईसकेको छु ।
महलका रेलिङ्मा लेटिएर सडकको रमिता हेरेझै,
म अब सधैं सगरमाथाको टुप्पाबाट संसारको रमिता हेर्ने छु ।
मेरो उचाईका अगाडी यो संसार होचो भई सकेको छ,
खाल्डो अर्थात खाल्डो भित्रको भ्यागुत्ता मेरो उचाईमा कहिल्यै आउने छैन ।
म अव भ्यागुत्ताहरुको संसारमा छैन र भ्यागुत्ताहरु पनि मेरो संसारमा छैनन् ।
होचाहरु सवै मेरा लागि भ्यागुत्ता हुन र म मात्र रुख चढ्न सक्ने सिरिसे सर्प भएको छु ।
किनकी म त्यहि केचनाको छोरो सगरमाथा आरोहि भएको छु,
त्यसैले संसार मात्र होईन सगरमाथासँगै यो प्रकृती धसिएको छ ।

सगरमाथाको टुप्पामा पुग्न साथ संसारलाई यसरि होचो देख्ने,
अनि सगरमाथा भन्दा अग्लो भएको भ्रम पालेर सगरमाथालाई गिज्याउने ,
संसारलाई आफु सवै भन्दा अग्लो भएको सपना बाँढेर दिवालिया हुनेहरुलाई
सादय थाह हुँदैन होला सगरमाथा माथिको उचाई क्षणिक मात्र हो ।
केहि घण्टाको आरोहण पछि आफू पनि त्यहि होचो संसारमा झरेर,
त्यहि होचो संसार जस्तै होचो हुनु पर्छ ।
सायद, त्यस बेला उ अरु जस्तै होचो भएको हुने छ
अनि संसारको सवै भन्दा अग्लो उचाईको पगरि सगरमाथालेनै गुथ्ने छ ।
उसको आरोहणको उचाईमा अर्को कोहि पुगेर यस्तै सपना पाल्न थालेको हुने छ ।

लखनपुर –४ झापा