Shreeshisha Rai – Agaman

तिम्रो माया लागेर नै
काठमाण्डुलाई छोडेर
म तिम्रो आँगनसम्म आएँ
मेरो गाउँ !
यतिखेर तिमीले मसँग
कोशेलीको आशा गर्यौ होला
तर म त आफै खिईएर आएको छु
होचिएर आएको छु

काठमाण्डु एउटा ‘शो फार्म’ रहेछ
आदर्श, विस्वास र स्वाभिमानको प्रदर्शनी हेरिरहेका
लेनिन, ओक्टाभियो र गोर्कीहरु
छ्यापछ्याप्ती भेटिए
भरोसाहरु कालो बादल झैँ हो–हल्ला गरिरहे
मानवसागरमा,
स्थायित्व र अपनत्वहरु वाष्पिकृत भएर
म स्वार्थको वजनले भूमरिँदै डुबेको पनि थाहै भएन

यौवनमत्त मोनिकाहरुको मायाजालमा भद्रकालीनेर
ब्ल्याकहाउसको जग खनीरहे क्लिन्टनहरु
बिहीको बारै पिच्छे प्रेमजोडीका प्रत्येक चूम्बनसँग
साटिईरहे मन्दिरका घण्टहरु
हरेक अखवार र स्तम्भहरुमा
आँशू खसिसकेपछि आँखाको महत्व पढेँ
आधूनिक भन्दैमा हावा सँधै
धूवाँ र धूलोसँग मिसिएर प्रदूषित भयो

जति उठेपनि विश्वासको त्यो स्वयम्भू
मेरो सगरमाथा बन्न सकेन
जति अग्लिएपनि घरहराले
मेरो मन छुन सकेन
खसे पनि आकाशवाट तारा
त्यो मैरै पोल्टामा पर्छ भन्न सकिन मैले
आखिर म तिम्रै आँगनमा फर्किआएँ

यो आँगन
मेरो सू–प्रभात झूल्कने सिकूवा जस्तो छ
जहाँ म अहिले
लुगा झैँ फूकालेर यो दूनियाँलाई
एउटा स्वाभिमान गजक्क जमाएर उभिएको छु
दूनेरु झैँ खोक्रिएको अन्तर्मनमा
आस्था भरिएर म पौरुषत्व बाँच्न थालेको छु
फ्रिजमा कोकसँगै चिसिएको मेरो शरिरमा
तिम्रा स्पर्श र नजरहरुको वात्सल्य प्रेमले
पूनर्जिवन अनुभूत गरिरहेछु
त्यसैले म सगर्व भन्छु –
खोला भन्दा तिमी जति उठ्यौ
तिम्रो आफ्नै उचाईमा तिमी मेरो जन्मभूमी हौ ।