ViBid Rose – Mitra Sangako Sambad

मित्रसँगको संवाद

आत्मदया त किन गर्थेँ र हे मेरा परम मित्र
दोबाटोको अपाङ् कुकूर त भोलिको दिनसगँ जुझ्न
भोको पेट लिई स्वाभिमानका साथ सुतिरहेछ मस्त ।
बरू घृणा जरूर हो, लज्जा पनि हो, आफैँसगँ
असफलताको सघाँरमा मुर्छिएको देशमा
भाग्य खोज्दै बरालिदाँको पीडा हो चसक्क ।

म निदाउन नसक्ने त्यही जून मुनि हो मित्र
त्यही जून मुनि, त्यही शीतल बतास मुनि,
जहाँ ब्यास ऋषीले रचे पौराणिक इतिहास ।
जहाँ अत्याचार र पराया दासत्व नस्वीकार्ने
वीरवीरङ्गना लडाकुहरूले बगाए रगत–
मेरो लाचार जीवन हो पुर्खाहरूको उपहास ।

आफ्नैहरूको दासत्व चुपचाप नदेखेझैँ,
टूलूटूलू लाटा र पापा चुट्किलाको पात्रझैँ,
सुनी बसेको छु बलात्कृत चेलीको क्रन्दन
नसाभित्रको शुरो रगतले माग्दैन न्याय
भोको छ विलाश र द्रब्यको, पीशाचझैँ,
निर्लज्ज हेर्दछु बलात्कारीहरूको रमझम ।

तिमी देख्छौ मित्र जीवन सुन्दर
सिदान्तमा असम्भव मित्रता हाम्रो
मात्र कुरूपता देख्छु म जहीँतहीँ ।
तिमी निदाऊ मित्र, म जागै बस्छु
उदाउँछ भोलि कुरूप सुर्य, लोकाचार
मा होमा हो बराबर थाप्नुछ सही ।

Sarubhakta – Dharap

कुमारी घर
तलेजुका रक्तिम अनुष्ठानहरुमा
सर्वकालीन नम्छरा राष्ट्रगानहरु
घटस्थापित छन्
ज्याम्वुरी हामी परापूर्वकालदेखि
खड्गजात्रा मनाइरहेछौ
भीर भूगोलमा
वुसान एसियाड
स्टोभ पड्केर आगलागी भएको छ
हाम्रा संचेतनाहरु
यसर्थ एक मृत्यु संस्कारित देश
व्ल्याकहोलदेखि व्ल्याकमेलसम्म व्यस्त छ
युटेरस् प्रोल्याप्स–खोई–क–कस्का
आङ खसेका छन् कुन्नी ?
हामी जाली नोटका सपनाहरुमा
माउसुली आक्रमण व्यस्त छौं
करणी उद्योग ः देवदासीप्रथा जमेको छ
आह ! मानव अङ्गका व्यापारीहरु
साँढेयुद्ध विभीषिका–अनङ्ग छन्
ए ! संकटकालीनदेशको महाखवर
‘डोल्पामा चामल पुग्यो ?’
म हिमालपारिको देशमा हिमालवारिको
कथा भन्दैछु–धरापदेखि
धरापसम्म
माफ गर खेम्पोहरु
देश थुप्चेन गुम्वाहरुभित्र शरणार्थी छैन
अभिशापिन यात्राहरुमा
हामी समयका विषाक्त च्याउ खाइरहेछौं
आह ! देशको टेण्डर खुलेको छ
परिकल्पित जुम्ल्याहा भवनहरुमा
यहाँ सबै व्यस्त छन् विनलादेनहरु

Nishprabh Saji – Baari Ko Kanlo

निष्प्रभ सजी – बारीको कान्लो

बारीलाई कान्लो चाहिएको छ,
खेतलाई आली चाहिएको छ
मेरो देशको सीमानामा भने
पर्खाल हैन नेपाली चाहिएको छ

बारीको कान्लो मिचियो केही बोलिन
त्यो छिमेकी थियो
गार्‍हो पर्दा काम लाग्ने त्यही त थियो
खेतको आली, मिचियो केही बोलिन
त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यही त थियो
यसपाली त अचम्मै भो, देशै मिचियो

इतिहासको कथा भित्र
यो नेपाली ब्यथाको भित्र
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चिने सामु
अहिले त मलाई
मेरो खिया लागेको खुकुरी उद्याउने रहर जागेको छ
नभन्नु मेरो रगत उम्लियो
जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो ।

शब्द – निष्प्रभ सजी
संगीत – न्हू बज्रचार्य

Damodar Pudasainee – Barshat Ka Filinga Haru Lai

दामोदर पुडासैनी किशोर – बर्षातका फिलिँगाहरूलाई

यो बर्षातलाई
थोपा थोपा समेटेर पुरै प्युँन पाए हुन्थ्यो
दिनरात झरी झारेर एकनास रूझ्न पाए हुन्थ्यो
बर्षातसँगै कोही आफन्त झरोस् भन्ने चाहेको थिएँ
भर्खरै बर्षातमा झरे –
गिध्दका नँग्राहरू
ग्रेनेडका कणहरू
र,चुँडिँदै झरेका घामका पखेटाहरू
जीवनचँगामा उडन खोज्नेहरू
तुन्द्रुँग झुण्डिएका छन् बर्षातका लहरहरूसँगै
धेरै मान्छेहरू
आ-आफ्नै आवाजमा
एकैपटक पोख्दैछन् आ-आफ्ना ब्यथाका समुद्र
बिग्रेको रेडियोको धूनझैं
समय बनेर झर्दैछ बर्षात ,टाउकाहरूमा
बर्षातमा परदेशबाट कोही बर्स्योस् भन्ने आशा थियो
पानी होइन पसिनाले नुहाउँदारहेछन् परदेशीहरूले
पसीना, पानी ,मन -केही पनि पठाएनन् बादलसँगै
बर्षौदेखि बचेरा हराएपछि
लेउ जमेको आँगन र झाडीले ढाकेको खेतबारीमा
सकि नसकी एक्लै झरिरह्यो बुढाबुढीका सुस्केरा
यो बर्षातमा
जीवन ब्युँझाउँने केही कुरा गर्न पाएँ हुन्थ्यो भन्ने लागेको थियो
समयको डिलमा
भ्रममै बर्षिरहेछन् प्रेमका लेखोटहरू
भ्रममै चिच्याइरहेछन् बिहान ब्युँझाउने चराहरू
भ्रममै रोकिएकोछ मान्छेको आवतजावत
भ्रममै टाढिएकोछ एउटा मन पर्ने मान्छे
अक्टोपस बर्षात
चुसेर निल्न खोज्दैछ लिफ्टमा हुँईकेका मनहरूलाई
कि त रेड लाइट बाल्न खोज्दैछ फ़्लाइओवरको मध्यबिन्दूमा
काकाकुल मान्छेहरू
कैद गर्न खोज्दैछन् बर्षातलाई कचौरामा,डेक्चीमा,प्रेसरकुकरमा ,चम्चा र डाडुहरूमा
बर्षा भने दौडिरहेछ बेलगाम मनसँगै
लामों प्रतिक्षापछि
आँकुरा ब्युँझाउँन झुल्केकोछ बर्षा
यसमा तिमी र म सँगै भिज्दै हिँडिरहनपाए हुन्थ्यो
समात,बर्षा समात मुठ्ठी मुठ्ठीमा
बर्षा भाग्यों भने
भाग्नुपर्छ कुनैदिन हामीहरू सबै सबै
बर्षातका फिलिँगाहरूलाई
जोरौं र निकालौं आगो
बर्षातभित्रै त हुर्कने हो मायाको बगैँचा

-२०७६ श्रावण २६ आइतबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ

ViBid Rose – Sharir Ra Atmaa Bahek

शरिर र आत्माबाहेक

शास्त्रले भन्दछ
भनेर एकपटक पन्डित बाले भनेथे-
म म होइन
शरिर र आत्मा हुँ अरे

र आत्मा वृद्द जन्मन्छ
शरिर जन्मदाँ शिशू हुन्छ अरे ।

त्यस वखत लौरी बाटोको बाधा हुन्थे
पन्डित बाका कुरा कहाँ सुन्थेँ र ?

आज लौरी शहारा छ
म बुझ्छु सब, मेरा कुरा को टेर्दछ ?

तर खिज्याउन्न प्रकृती मलाई म वृद्ध छु
ठान्दैनन् पशूपङ्क्षी म शिशू अशक्त छु

विचरा तिनीहरू! म त कहिल्यै थिदैँथिइन-
थियो मेरो शरिर जो आज वृद्ध अशक्त छ
थियो मेरो आत्मा जो आज शिशू अशक्त छ ।

हिजो दुवै जवान हुदाँ
कति भ्रमित थिएँ म
कि शरिर र आत्माबाहेक पनि
कहीँ कतै

म छुँ ।

Sarubhakta – Mahabharat

कुरुक्षेत्रमा कौरवहरू जम्मा हुन्छन्
कुरुक्षेत्रमा पाण्डवहरू जम्मा हुन्छन्
र, प्रत्येक दिन शङ्खका अहम्नादहरू गर्दै
धर्मका नाममा युद्ध गर्छन्
तर, धर्मको नाममा सुरु हुने
महाभारत युद्धहरू सधैँसधैँ
पापयुद्धहरूमा Continue reading “Sarubhakta – Mahabharat”

Saroj Dhital – Airport

सरोज धिताल – एयरपोर्ट

वर्षौंदेखि म उडिरहेछु
एक एयरपोर्टबाट अर्को एयरपोर्टमा
कहाँ–कहाँ पुगेँ कुन्नि !
छोड्न चाहेको ठाउँ कहिल्यै छोडिएन
कहाँ–कहाँबाट उडेँ कुन्नि
अवतरण गर्ने ठाउँ कहिल्यै फेरिएन

जहाँबाट उडे पनि
जहाँसुकै पुगे पनि
स्वार्थको पिंजरामा कैद
तिनै मान्छेको
सानो साँघुरो
उही दुनियाँ !