आशांक उपाध्याय – ग़ज़ल – “उराठ”
चरी आयो उडी गयो पन्जा छाप मात्र यहाँ ||
हुरी आयो छाडी गयो चिसो धाप मात्र यहाँ ||
वन पनि शुन्य हुन्छ कोइलीको धुन बिना,
मृग आयो गाडी गयो खुर नाप मात्र यहाँ ||
कस्तुरीको सुगन्धमा मग मग बास्ना थियो,
शिकारीले तीर छाड्यो बोक्यो पाप मात्र यहाँ ||
उल्लु रोयो मन छोयो सुँगा, मैना डराएका,
दाउरेले हाँगा काट्यो रह्यो खाप मात्र यहाँ ||
बन्चरेले रुख ढाल्यो जंगल नै थर्काएर,
गोठालोले आगो बाल्यो आयो राप मात्र यहाँ ||