Lakshmi Mali – Udatta Chahana

सहने सल्लाह दिने प्रियजनहरु
माफ गर्नुहोस्
म सहन सक्तिनँ
म कफ्र्यूको भयावह शान्ति स्वीकार्न सक्तिनँ
म कराउन चाहन्छु
चिच्याउन चाहन्छु
कमसेकम
म अक्षरहरुको जुलुस निकाल्न चाहन्छु
बुद्ध मूर्तिमा पूmल चढाएर
दोबाटोमा मैनबत्ती बालेर
शान्तिको कामना गर्ने प्रियजनहरु
कमसेकम म खुल्न चाहन्छु,
कुनै पनि समय मुठभेडको सम्भावना रहेको
बन्दको दिन सुतेको राजमार्गजस्तो
म मृत शान्ति त चाहनै सक्तिनँ
शान्तिका लागि चुपचाप आफुलाई सिध्याउने मैनबत्ती
मेरो आदर्श पात्र हुनसक्दैन
म संकटयुक्त शान्ति भोग्न तयार छैन
प्रियजनहरु
मान्छेजस्तै हुने अधिकारका लागि
म चलमलाउन चाहन्छु
म तपाईंहरुसँग अंकमाल गरेर
उन्मुक्त हाँस्न चाहन्छु
प्रियजनहरु
म लोकतन्त्र चाहन्छु ।