पुरुषोत्तम सुवेदी – सतिसाल
(मधुपर्क २०६६ असोज)
ठूलो वरको रूखको टुप्पोमा
काटिएको टाउको
आन्द्राभुँडी, कलेजो
र करङका लाप्सा
ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै
समयको बूढो गिद्ध
मुक्तियुद्धको पराजयको
साक्षी बसेको छ ।
युगले लडेको
विचारको कुरुक्षेत्रमा
सपनाको शरीरबाट
रगत बग्दैछ
र जम्दैछन्
राता रगतका पोखरीहरू
सडकमा
र घरघरमा ।
उन्मादको यो क्षणमा पनि
प्रयत्नरत छ समय
सत्तासुखको
कालो जादुले
बारम्बार खोस्न खोजेको
जीवनको गीत गाउन ।
-कलङ्की, काठमाडौँ