आर. आर. चौलागाईं – सपना
मैले देख्न छोडिसकेको थिएँ
सपना
अचानक कहाँबाट आयौ तिमी
पत्तै भएन
र देखाएर गयौ
असङ्ख्य सपनाहरु ।
कुनै बेला म खुब सपना देख्थेँ
पहाड उक्लेको सपना
हिमाल चढेको सपना
समुद्र तरेको सपना
खाडी नाघेको सपना
सायद कसैले पनि देख्दैनथे होलान्
मैले जति सपनाहरु ।
कुन सपनाको कुरा गरुँ म ?
बिरुवा रोपेको सपना ?
पानी हालेको सपना ?
गोडमेल गरेको सपना ?
फूल फुलाएको सपना ?
सायद तपाईँहरुले पनि देख्नुभएको थिएन होला
त्यत्ति मीठा सपनाहरु ।
पहाड उक्लिन्छु भन्नेहरुले
पहाड उक्लिरहेकाहरुलाई
पहाडबाट खसालेपछि
हिमाल चढ्छु भन्नेहरुले
हिमाल चढिरहेकाहरुलाई
हिमालबाट धकेलेपछि
समुद्र तर्छु भन्नेहरुले
समुद्र तरिरहेकाहरुलाई
समुद्रमा डुबाएपछि
खाडी नाघ्छु भन्नेहरुले
खाडी नाघिरहेकाहरुलाई
खाडीभित्र पुरेपछि
हरबखत कहाँ देख्न सकिँदोरहेछ र सपना ?
बिरुवा रोप्छु भन्नेहरुले नै
बिरुवा रोपिरहेकाहरुलाई
बिरुवा उखेलेर फालेपछि
पानी हाल्छु भन्नेहरुले नै
पानी हालिरहेकाहरुलाई
पानीको गाग्री फुटाएपछि
गोडमेल गर्छर्ुुन्नेहरुले नै
गोडमेल गरिरहेकाहरुलाई
हातबाट कुटो खोसेपछि
फूल फुलाउँछु भन्नेहरुले नै
फूल फुलाइरहेकाहरुलाई
नीलडाम हुने गरी कुटेपछि
सपना देख्छु भन्नेहरुले नै
सपना देखिरहेकाहरुलाई
किचिमिचि पारेपछि
हरप्रहर कहाँ देख्न सकिदोँरहेछ र सपना ?
मलाई ब्युँझाएर गयौ तिमीले
मलाई उठाएर गयौ तिमीले
मलाई अल्झाएर गयौ तिमीले
मलाई बल्झाएर गयौ तिमीले
अब कति खस्नुपर्ने हो पहाडबाट थाहा छैन्
अब कति धकेलिनु पर्ने हो हिमालबाट थाहा छैन्
अब कति डुब्नुपर्ने हो समुद्रमा थाहा छैन
अब कति पुरिनुपर्ने हो खाडीमा थाहा छैन
अब कति दुख्ने हुन् सपनाहरु थाहा छैन ।
तिमी बिजुली चम्केजस्तो
झिलिक्क चम्क्यौ र बिलायौ
तिमी चट्याङ परेजस्तो
एकैछिन आयौ र हरायौ
तिमी हुरी चलेजस्तो
मनलाई लथालिङ्ग पार्यौ र गयौ
तिमी खहरेजस्तो
गड्गडाएर आयौ र अलप भयौ
अब विरुवाहरु कति उखेलिने हुन् थाहा छैन्
अब गाग्रीहरु कति फुट्ने हुन् थाहा छैन
अब कुटाहरु कति खोसिने हुन् थाहा छैन
अब फूलहरु कति चुँडिने हुन् थाहा छैन
अब सपनाहरु कति बिथोलिने हुन् थाहा छैन ।