Acharya Prabha – Sangeet Bihin Maun Juwari

ब्यर्थ बिचारको उहापोहमा
मस्तिष्क खर्चेर हामी
सदा शीतयुद्धमा लडिरहेछौँ
ता पनि…..
सकारात्मक निश्कर्षको
प्राप्ती छैन हामीलाई ,
अन्यौलमा भौँतारी रहेछौं
अकथित भावनाहरु मनभरी गुम्साएर
एकार्काका बिचारहरुसँग
असहमतिको सहिछाप गर्दै
मौन जुवारी खेलिरहेछौँ ।
कोही राजनीतिको रखवाला भएर
युद्धको धावा बोलिरहेछौँ
कोही धर्मको बिभाजनमा एकार्कालाई
बिभाजित गरिरहेछौं
कोही लिंगभेदको निहुंमा आफूलाई
अग्रणी बनाइ रहेछौं ,
कोही जातिबादमा
अन्धो बनिरहेछौँ ।
हो यो मौन जुवारीमा
न मादलको मीठो ताल छ,
न त सारंगीको स्वीकृतिको
मन छुने मीठो धुन छ
न त बाँसुरीको लय छ
फगत !यो जुवारी संगीतबिहिन छ
असमर्थन र अस्वीकृतिका शब्दहरु
ब्यर्थमा भरिएको छ
यो कण्ठबिहिन जुवारीमा
पोख्त संगीतकारको कमी छ
मीठो स्वरदिने गलाको
आवश्यकता छ
अनि सहि शब्दकारको खाँचो छ
यो मौन जुवारीमा ।