Krishna Kusum – Samaya Ra Ghoda Daud

कृष्ण कुसुम – समय र घोडादौड
(मधुपर्क २०६६ चैत)

वर्षौँदेखि उसैगरी
दौडिरहेछन् -टुँडिखेलमा घोडाहरू !
घोडचढी सिपाहीहरू
हातमा लगाम लिएर दौडाइरहेछन्
आ-आफ्नै घोडाहरू
विजयी हुने होडमा !
पहिले पहिले
राजामहाराजाहरू सवार हुन्थे र
नजर गर्थे घोडेजात्रा
तर आजभोलि
भैंसी गोठालाहरू
साधारण किसानका छोराहरू
आउँछन टुँडिखेल
अनि हौंस्याउँछन् खेलाडीहरूलाई
समय र घोडचढीहरू
उस्तैउस्तै रहेछन् आखिर !
घोडचढीहरू लगामले
आफ्ना घोडा दौडाउँछन्
र समय आफ्नो लगामले
समाजलाई दौडाउँछ
आफ्नो रफ्तारसँगै
समय र घोडाको
यो दौडा दौड हेरेर पनि
म आफू असमर्थ छु निक्र्यौल गर्न
समयको रफ्तारमा दौडिरहेछ घोडा
वा घोडाको रफ्तारमा दौडिरहेछ समय ??

नुवाकोट