टंक सुब्बा – समय
समय अविरल आइरहन्छ
विना मुहानको पानी जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो
प्रकृतिले प्रदान गरेको निःशुल्क उपहार
प्राप्त भइरहन्छ
बाच्नको लागि प्राण जस्तो
तर थाहा हुदैन हामीलाई
सहज असहज बनेर पाइलाहरुमा
गतिशील भएर उर्लिदिंदा
बनिदिन्छ सृष्टिको नियम जस्तो
विद्यमान बगिदिने नदीहरुमा
जन्म र मृत्यु दुइ किनारा भएर बगे जस्तो
समय
बलवान हुन्छ
रोकेर रोकिदैंन/छेकेर छेकिदैन
त्यसैले घाम बन्छ कहिले सफलताको
औंसीको रात बन्छ कहिले असफलताको
फक्रिन्छ कहिले रङ्गीविरङ्गी फूल भएर बसन्तहरुमा
पोलिन्छ कहिले आगोको राप बनेर छातीहरुमा
धड्कन हो कि कुन्नी
खुल्दुलीमा आखा
जति च्यातेर हेरे पनि
देखिंदैन कहीं
हतारिएर जति भेट्न खोजे पनि
भेटिदैन कही
व्यस्त व्यस्त भइरहन्छ हरपलमा
समय
छाइरहन्छ सदैव दिनहरुमा, रातहरुमा
र स्पर्श गरिरहन्छ अनुभूतिहरुमा
विना आकृतिको भावना जस्तो ।
वर्तमान छचल्किरहन्छ भविष्यको पानीमा
रोकिदैन भूतकाल पहिरो गए जस्तो
पर्खदैन डुवी जाने घाम जस्तो