सन्तोष लामिछाने – साक्षी
भावनाको घोप्टेभीर
मनको जोगिमारामा घुम्ती बदल्छ
अनि आकांक्षाका खोरियामा
कुकुर जोघाइ सुरु हुन्छ
रित्तोपन लुकाउँदै
शासकहरु हात बाँधेर
मुकुण्डो कसाउँछन्
अनि एउटा नौटंकी
जिन्दगी सुरु गर्छ
पहिराहरु आतुर छन्
धरातल उल्ट्याउन
भूकम्पहरु खुटटा उचाल्छन्
धर्ती हल्लाउन
बाढीहरु सल्बल छन्
सिर्जना बगाउन
ध्वजा पताका फिजारिन्छ
रंगमञ्ज सजिन्छ
गीत रचिन्छ
संगीत पस्किइन्छ
विस्तारै चिहान उठ्न थाल्छ
सपना विपना जस्तै लाग्न थाल्छ
दर्शक भुलिन्छन्
सिठठी बजाइन्छ
ताली पडकाइन्छ
विश्वविद्यालयहरु निरर्थक हुन्छन्
प्राध्यापकहरू घुँडा टेकेर
ज्ञानको भीख माग्न थाल्छन्
ढुंगाका मुर्तीहरु
पैतालाका डोबहरुले भरिन्छन्
बुद्धिजीवीहरु भंडखारामा पुरिन्छन्
तक्मा भिर्ने मै हुँ भन्नेहरु
बन्दीगृहका कैदीमा चुनिन्छन्
कोलाहल ठप्प छ
मस्तिष्क थाङनामा सुत्दछ
निडर निरुत्साहित
एउटा साक्षी
सिर्फ हेरिरहन्छ
सुनिरहन्छ
आँखा खोलेर अनि आँखा बन्द गरेर
सधैं व्यूँझिरहन्छ अनि ब्युँझ्याइरहन्छ
अनवरत
एउटा साक्षी व्यूँझिरहन्छ
ब्युँझ्याइरहन्छ ।