Chanki Shrestha – Saharma Batti Nibheko Ek Sanjh

सहरमा बत्ती निभेको एक साँझ
दशगजावारिको जमिनजस्तै
एक्कासि साँघुरिएका थिए चौडा सडक
ढलिरहेका थिए
परेड खेलिरहेका कल्कीका अग्ला रूखहरू
लात हानेर सम्पदा क्षेत्रलाई अग्लिएका थिए पक्की भवन
तर, नतमस्तक थियो धरहरा ।

सहरमा बत्ती निभेको एक साँझ
रोकेर आफ्नो प्रवाह जमिरहेका थिए बागमती र विष्णुमती
देवल र सत्तलहरू उदास उदास थिए
उडिरहेको थियो त्यहाँबाट केवल गाँजाको धुवाँ
देव -देवीहरू देश छाडेर मुग्लान भागिरहेका थिए
बन्दुक लागेर फड्फडाइरहेका थिए मन्दिरमा परेवाहरू
तर, सिकारीकै विरुदावलि गाइरहेका थिए धार्मिक संघ-संस्था ।

सहरमा बत्ती निभेको एक साँझ
बौरिएर एक्कासि शालिकबाट
वायुवेगमा पुर्वतिर कुदिरहेका थिए महाराज जुद्धशमशेर
नाचिरहेको थियो हातको जंगी तरबार जथाभावी हावामा
बहुलाएर मान्छेको पिठ्युमाथि दौडिरहेको थियो घोडा
पर सिंहदरबारद्वारमा
पिठ्यू थाप्न महाराजलाई प्रतिस्पर्धा गरिरहेका थिए छातेहरू
जयजयकार गर्दै तिनै मान्छे अघिपछि हिँडिरहेका थिए
जो दिउँसो रत्नपार्कमा निरंकुशताविरूद्ध चर्को भाषण गरिरहेका थिए ।

सहरमा बत्ती निभेको एक साँझ
निर्ममतापुर्वक गरिएको थियो हत्या एउटा र्सवमान्य सत्यको
मुखभरि आलो रगत पोतेर खुलमखुला हिँडिरहेका थिए ब्वाँसाहरू
तर, मौन मौन रमिता हेरिरहेको थियो गृहमन्त्रालय
मौन मौन स्वीकृति जनाइरहेको थियो सिंहदरबार
नेपाल सुन्दरीको फिगर कस्तो छ – बहस गरिरहेका थिए विधायकहरू
तर, बन्द थियो घण्टाघरको घडी
बन्द थिए स्वयम्भूका आँखाहरू
तर, सल्लाका अग्ला रूखहरूमा उभिण्डिएर
यो राष्ट्रिय नाटकको स्वागत गरिरहेका थिए चमेराहरू
पखेटा फड्फडाएर स्वागत गरिरहेका थिए ।

सहरमा बत्ती निभेको एक साँझ
सपनाप्रेमीहरू नै गरिरहेका थिए सपनाको हत्या ।