Krishna Bajagain – Sahar Ma Pasina

कृष्ण बजगाईं – सहरमा पसिना

मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?

तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्दा नमिठो परफ्यूम ।
पसिना भन्दा सुगन्धित
कुन सुगन्ध छ संसारमा ?
परिश्रम भन्दा मिठो
कुन फल छ संसारमा ?
छिनमै हावामा बिलाई जाने
परफ्युम भन्दा
जीवन जगतमा मगमगाई रहने
पसिनाको सुगन्ध सुँघी हेर ।

सहर, मान्छे भन्दा बाठो,
ब्यापार, मान्छे भन्दा चतुर
तिम्रै पसिना सस्तोमा किनेर
रंगीचंगी स्टिकर टाँसेर
महँगोमा बेच्दछ सहर ।
लाज पचेका सहरका मानिसहरु
पसिनाको मुल्य थाहा नपाए जस्तो गर्दछन् ।

सहरका मानिस
पसिनाले नै घाँटी रसाउँछन्
सहरको सबै झिलिमिली
पसिनाकै मोती दाना हुन् ।

पसिनाको स्वाद नूनिलो हुन्छ ।

‘नूनको भारा तिर्न गाह्रो हुन्छ’– परम्परा बोल्छ ।
कसरी बिर्सन सकेका हुन्
सहरका मानिसहरुले परम्परा ?

लन्डन, बेलायत