Binod Khadka – Asadhyai Dar Lagi Raheko Chha

आकाशमा चील र गीद्धहरु नाँचिरहेका छन
धरतीमा ओर्लने अधैर्य प्रतिक्षामा
चीतुवा र श्यालहरु चिहाईरहेछन
वस्तीमा गएर लुछ्ने प्रतिक्षामा
वस्तीमा हाहाकार मच्चिरहेको छ
आतंक र अविश्वाश मडारिईरहेको छ
एउटा भाई अर्को भाईको माथी खनिएको छ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ।

स्वार्थका चक्रव्यूहहरुभित्र
नैतिकताका कुराहरु हराउदै गएका छन
सेवा र मानवधर्मका कुराहरु
राजनितीका भ्रमहरुले निमोठीरहेका छन
आवाजै आवाजहरु बोकेर
वस्ती र वाटोहरु बलिरहेको छ
संरक्षण र सम्वर्धनको लामो प्रतिक्षामा
देश एउटा असहाय झै रोईरहेको छ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ।

लुछालुछ खोसाखोस र तानातानले
चोली अझै च्यातिदै गएकोे छ
फाटेको चोली फेरी दिन्छु भन्ने छोरो
भीडभित्रै खोई कता पो हराईरहेको छ
पीडामा मल्हम लगाउने कुरा गर्ने छोरो
आज भोली साँढा पल्टेको छ
यता ठग्दैछ उता ठग्दैछ
मानौ यस्तो लाग्दैछ ठगीकै खेती गर्दैछ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ।