Lakshmi Mali – Rani Pokhari

कोलाहल शहरबीच
चुपचाप रानीपोखरी
कुनै अभिलाषा नभएको
कुनै प्रतिकार नभएको
तैपनि
पौराणिक पात्र कुम्भकर्णजस्तै
निदाउन सक्ने

सूर्योदय हुन्छ
चराहरु रमाउँदै गाउँछन्
सूर्यास्त हुन्छ
चराहरु आत्तिँदै गुँडतिर लाग्छन्
तर
रानीपोखरी चुपचाप छ
रानीपोखरीले बिहान र रातमा फरक देख्दैन

ऋतुहरु बदलिन्छन्
फूलहरु फुल्छन्, झर्छन्
मानौं त्यो सरोकारको विषय नै होइन
कति अचेत ?
पारखीहरु रानीपोखरीको सौंन्दर्य
हेर्दाहेर्दै मख्ख हुन्छन्
कोही एक्कासी ढुङ्गा हान्छन्
अहँ, कुनै प्रतिकार छैन
कोही रानीपोखरी वरिपरि घुम्छन्
आनन्द लिन्छन्
कोही पानी धमिल्याउन आउँछन्
कोही जिस्किन आउँछन्
तर रानीपोखरी मौन छ

ए द्र निस्तब्ध रानीपोखरी !
कति सहने ? किन सहने ?