टंक सुब्बा – प्यारो गाउको सम्झनामा
कसरी बाचेको होला
त्यो मेरो प्यारो गाउ कुरुले तेनुपा
वर्षौं भयो अलग्गिएर न्यानो काखबाट
आस्थाको उज्यालो खोज्दै हिडेको
धकेंलिदै विवशताको हुरीसंग
पुगेछु बिरानो देशमा
त्यहा पनि
सपनामा सधैं देख्छु विपनामा धिक्कारिदा
दिनरातसंगै हुन्छु यादहरुमा अल्मलिंदा
इच्छा थिएन मलाई
आफ्नो गुडलाइै छोडेर मुङ्लान पस्नु
उद्देश्य थिएन मेरो
मातृवात्सल्यबाट टाढिनु
तैपनि मनमा जागर बाधेर
छाम्दैछु मीठो सपनाको आकास
हिमशिखर जस्तै विश्वास पालेर
फक्राउदैछु ओंठमा लालीगुरास
तर क्षितिज पारी बनेको छ आफ्नै गाउ“
जुनवेला
थाहै भएन बालापनबाट तन्देरीमा उभिएको
थाहै भएन वात्सल्यप्रेम मुटुमा झ्याङ्गीएको
अब म कसरी पल्टाउ
अतीत बनेका ती क्षणहरु
बरु एकान्तमा सधैं दुःख्छन् घाउ बनेर
नसम्झुभन्दा पनि देख्छु झल्झली
रुझ्दै बिताएका साउने झरीहरु
देख्छु अझै झरना समीप नाच्दै गरेका परीहरु
झझल्को बनेर सताइरहन्छ
यो छातीभरि
त्यसैले माटोको मायामा भिजेर
बाचिरहेछु प्यारो गाउको सम्झनामा
मेरो जिन्दगी लेखिदिने
स्वर्गद्वारी कुरुले तेनुपा
बिरानो नसम्झे हुन्छ मलाई
तिम्रो वेदना पोखिएको छातीभरी
छरिदिनेछु खुशी ल्याएर
तिम्रो उजाड मुहारभरी
छाइदिनेछु हरियाली वसन्त भएर
तिम्रो प्यारो काखभरी
आउने छु तातो माया सम्हालेर
परदेशी नसम्झे हुन्छ मलाई
आउने छु भोलि बिहानको न्यानो घाम बोकेर ।