Saroj Dhital – Prem

सरोज धिताल – प्रेम

शब्दहरू
जो मूर्तिकारको सानो छिनो भएर
ढुङ्गालाई अर्थ दिन्छन्,
शब्दहरू
जो पानीको विशाल प्रवाह भएर
नदीलाई जीवन दिन्छन्
शब्दहरू
जसले सृष्टि गर्छन्
जसले अर्थ दिन्छन्
र जसले संहार पनि गर्छन्
तिनै शब्दहरू
कुनैकुनै बेला
आफै
लाजले शिर पनि निहुराउछन्

टिप्न सक्ने वस्तु हो र सत्य ?
शब्दले कसरी बाधोस् ?
प्राप्य छ र पूर्णता ?
शब्दमा कसरी अटाओस् ?
आरोह्य उचाइ हो र ईश्वर ?
शब्दले कसरी चढोस् ?

प्रेम
ईश्वरको अर्को नाम हो
ईश्वर
पूर्णताको अर्को नाम हो
पूर्णता
सत्यको अर्को नाम हो ।

त्यसैले
जीवन
प्रेमको खोज हो
यात्रा हो– कहिल्यै नटुङ्गिने ।