Dipendra KC – Penson Patta

दीपेन्द्र के.सी. – पेन्सनपट्टा

सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा !

जग्गेका मण्डपहरुमा गरेका वाचाहरु
जीवनभर साथ दिने कसमहरु
त्यो पहिलो रातका कुराहरु
मखमली चोली र चमेलीका कुराहरु
बनारसी साडी र गोरखपुरका रेलका कुराहरु
छुट्टी र दशैंका कुराहरु
“कार्कीनेटा”को डाँडो हेर्दाहेर्दै थाकेको
समयका कुराहरु
एक शरद फुल्ने
र, ओइलाउने मनफूलका कुराहरु,
सवै पट्याएर आफुभित्र
वावाको “प्रेमिल चिनो”
अपूर्ण सम्झौतापत्र जस्तो
सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा !

कसले पो भुल्छ र !
राइफलसँग टाँसिएर
आत्महत्या गरेका रातहरु,
तिमी कार्कीनेटो काटेपछि
आत्महत्या गरेका दिनहरु
जीवनका धेरै अँशहरु
हरण गरेर
जीन्दगीको हिसावमा
घाटाको वासलात देखाउँदै
बाँकी बक्यौता उठाएर
सम्झनामा बगाउने आँशुहरु
खरीद गरे जस्ता,े
उताबाट आएर
६ महिनालाई पुग्ने
अँक थपिदिएर जान्छ
“सोल्जर बोर्ड“ ले ।

अव त ! पुग्यो मलाई ।
किनारमा प्यासै उभिएर
बगिरहेको कालीगण्डकी
हेरिरहेको बेलवृक्षजस्तो जीन्दगी,
थाकिसकेकी हुँ पहिल्यै हेर्दाहेर्दै
मेरो मान्छे आउने आशमा
पेन्सनपट्टा हिडेर आएको
“नयाँ पुल” का बाटाहरु,

अव म
हेरेर अन्तिम पटक
पेन्सन क्याम्प आउने बाटो
र, फिर्ता गरिदिन चाहन्छु
यो “बहीखाता जस्ता”े पट्टा
र, माग्छु केवल
मेरो “बहादुर लाहुरे” भएको ठेगाना

बुझाउनलाई आज—
सम्झनाहरु बल्झाउने
पेन्सनपट्टा बोकेर हातमा
पेन्सन क्याम्प आउने
बाटो हेर्दैछिन आमा

बागलुङ, हाल बेल्जियम

कार्कीनेटोः— पोखरा—बागलुङ राजमार्ग निर्माणपूर्व पैदल यात्रामा पोखरा पुग्दा पार गर्नुपर्ने स्याङजा र पर्वत जिल्लावीच पर्ने विशाल उकालो पहाड ।

नयाँपुलः— माथी उल्लेखित अवस्थासँगै पोखरा—बागलुङ यात्रामा पर्वत जिल्लाबाट बागलुङ प्रवेश गर्ने कालीगण्डकीमाथीको पुल जुन बागलुङ प्रवेशको प्रवेश विन्दु मानिन्थ्यो ।