चन्द्र गुरुंग – पहिरो
हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा,
बगाएछ खोला किनारको मन्दिर
र बगाएछ गाउँ माँझको मस्जिद पनि ।
तर बिहान सवेरै
चिण्डे लामा गुरुले
स्वार्थको ‘माने’ घुमाई रहेको देखें,
बूढो पण्डित बाजेले
छल-कपटको प्रसाद बाँडी रहेको भेटें
र बोके दारीवाला मौलवीले
जातियताको अग्लो पखर्खाल निर्माण गरेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना-ठुला घर-गोठहरु,
बगाएछ गरीबका मन धान्ने हरियो खेतबारीहरु
र बगाएछ असंख्य चौपाया-दोपाया जीवनहरु
तर बिहान सवेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउँन
आई पुगेको साहूलाई भेटें,
खेतबारीहरुमा थुप्रै सपनाहरु रोपेका
किसानहरुका आँखामा आँसु र व्यथा देखें
र हर घर-आँगनमा
मात्र मृत्यु पल्टेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदामहरुमा
सुति रहेका अन्नका बोराहरु,
बगाएछ खेतहरुमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रोई लत्ता-कपडाहरु पनि ।
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरुको पेटमा अल्झेको देख्छु ।
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरुका अंगमा टाँस्सिएको भेट्छु ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।