Khagendra Pandhak Limbu – Pagalbad Bata

खगेन्द्र पन्धाक लिम्बू – पागलवादबाट

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय,
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री –
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।
***

काला कर्तुतका
पहाड उक्लेर
विरूपक वेदनाको
सागर तर्दै
पातकत्वको ज्वालामुखी
छातिभरी पाल्दै
मनोगत छटपटीमा
सत्त्व-वासना बहुलाएर
आगो निल्दै
मान्छेत्व जप्दा
जिन्दगीको अर्थ
अवचेतन मस्तिष्कमा
ढक-मक्क फूलेको भेट्छ ।
यहि मानेमा –
सत्यको निम्ति
पागल मर्न डराउँदैन,
मृत्यू पागलसंग हार्छ ।
***

सद्दे हुन खोजेको -मन
बार्दलीको निन्यौरा-फूल
त्यसैले प्रिय लाग्दैनन् ।
*****

ढुङ्गोले किचिएका
दुबोका पहेंला टुसाहरु
घामतिर फर्किएर हाँस्दा
‘पागलवाद’ मुस्कुराउँछ ।
*****

सन्तापबाट
आत्म-हत्या नभोगी
परमसुखको रस्वदान
खुलम-खुल्ला चाख्ने
सफल जीवन-
नाङ्गो -आँखा
नाङ्गो-मन
नाङ्गो-चेतना
नाङ्गो-शरीर
पागलसंग मात्र छ ।
****

अटुट बग्ने नदीहरु..
हिम्मतिला पहाडहरु…
ओजस्वी आकाशहरु..
ठेत्टर पवनहरु…
अर्थात् –
मानिवीय संस्कारमा
केवल मान्छेको निम्ति
हांसी-हांसी मर्ने सहिदहरु
बहुलाहा हुन् ।
पागल हुन् ।
****

साक्षात् मङ्गल
पूर्वबाट झुल्किने लालिमा
भौतिक संसारमा
सत्यव्रत सिधै ठोक्किन्छ ।
प्रकाश छेक्न उभिएका
सचेत तन्नाहरु
किरणलाई पागल नै मान्छन ।
प्रकाश कैद नहुँदा
प्राकाम्य पागल हो ।
****

अभय क्रान्तिमा
फाल हान्दा जिन्दगीले
अग्रस्थानमा
युग सामुन्ने मुस्कुराउंछ
मान्छेको भिडमा
नत्थी गरिएको
बन्दि संस्कारबाट झट्कीएर
तन-मन फुकाउँदा
सद्देवाला रमिते दृष्टि
खुम्चिएर रमाइलो मान्दो हो,
यहिनिर
जीवन गुमाउनुको मानेमा
एउटा पागल जन्मी दिन्छ ।
******

उदेक..
अनौठो…
आश्चार्य…
सबै-सबै अप्ठयाराको
घान-भरेर
पौराणिक उकालोमा
भारी बोक्ने गधाहरु
तन्त्र निर्माता भन्दा
स्वतन्त्र छन
यहि मतलबमा
बुध भन्दा कुधि
खुशीका प्रवर्तक लाग्छन ।
*****

सेमिनारहरु..
सम्मेलनहरु…
आन्दोलनहरु…
बैठकहरु…
विज्ञप्तिहरु…
संबिधानहरु…
शास्त्रहरु…
अस्त्रहरु…
ग्रन्थहरु…
भनौं –
विशद सम्पूर्ण
नियमहरु
माकुरोका आत्मघाती
जाली त हुन् ।
आकाशले यसै भन्छ ।
प्रकाशले यस्तै कहन्छ ।
****

स्वन्त्र हुनुले
प्रकाश र आकाश
आखिर पागल नै हुन् ।
जो जिन्दगीले
सकी-नसकी
जीवनभर रुचाउँछ ।
जीवनभर माया गर्छ ।
***

मोक्ष
जीवनको गवेषणमा
विपक्व इन्द्रिय
बेसरम,
बेडर,
बेतुक,
बेफिक्री –
-धित मरुन्जेल हाँस्न
-धित पुगुन्जेल रुन
‘पागलवाद’-मा पुगेर
निरुद्वेगम् रमाउँछ ।