Sitaram Acharya ‘Sagar’ – Naya Nepal Aaune Kahile Hola [Nepali Gajal]

सिताराम आचार्य ‘सागर’ – नयाँ नेपाल आउने कहिले होला

आफ्नो सानो खरको झुप्रो छाउने कहिले होला
हाम्रो घरमा नयाँ नेपाल आउने कहिले होला

जनताको आय तोक्ने खान्छन् आधा लाख बढी
नेपालीले बाह्र हजार पाउने कहिले होला

ठाउँमा बस्ने आफैं गर्छ तस्करी र दुइ नम्बरी
सबैलाई समान कानुन दाउने कहिले होला

विकट गाउँ डाँडा पाखा नेपालीकै भूमि भए
भोको पेट भर्न त्यो मुख बाउने कहिले होला

कुर्सीमाथि खिचातानी सधैंभरी झै–झगडा
यो देशमा शान्तिको गीत गाउने कहिले होला