Biplav Pratik – Nango Shahar

बिप्लव प्रतिक – नाङ्गो शहर

आज म यस शहरमा
नाङ्गै उपस्थित भएको छु
तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन
पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।
कचल्टिएको भातजस्तै
आधाकाँचा मानिसहरूको बस्तीमा
मेरो नाङ्गोपन कुनै रमिता बनेन ।

यिनीहरू अचेल कागजको फुलमा बास्ना हाल्छन्
यिनीहरू अचेल रोबोटको शरीरमा धुकधुकी भेट्छन्
मानिसमानिसबीच संवेदनशीलता र सहृदयता
मानिसमानिसबीच सद्भावना र म्वाई अब चाहिएन
अब चाहिएन प्रेम, आत्मीयता र मृदु कुराहरू पनि
र विकृत भइसके मानवीय मूल्यहरू…
यस्तो अवस्थामा, यस शहरमा, यहाँका मानिसहरूबीच
नाङ्गो हुनुबाहेक अर्को बाटो पनि त छैन ।

यस शहरमा आज म नाङ्गै उपस्थित भएको छु
र भोलि शहर, गाउँ र बस्तीका
तमाम नागरिक नाङ्गै देखिइनेछन्
निर्वस्त्र हुनेछन् शरम नभएको शहरमा ।