Bimal Nibha – Mero Kavita Parbaha Gardaina Timro

कुनै पनि बेला
ममाथि राजद्रोहको मुद्दा चल्न सक्छ
काला गँड्यौलाहरु पिछा गरिरहेछन् मेरो
अन्तर्राष्ट्रिय कालाबजारीको
कुहिएको आलु
र प्रधानमन्त्रीको ताजा भाषण
दुवैलाई एकसाथ
टुँडिखेलको खुला चउरमा उभिएर
सयौं लेखक–कलाकारहरुले
अस्वीकार र बहिष्कार गरिदिए
यो इलाकाको भ्रष्ट थानेदार
के सोचिरहेछ
मलाई थाहा छ
ऊ कुनै निर्दोष कविलाई
भूmटो वारदातमा फसाउन चाहन्छ
म जुन झोलुङ्गे पुलबाट
सधैं गुज्रन्छु
त्यो यति जोड–जोडले हल्लन्छ कि
सतर्क हुन्छन्
वरिपरिका श्वेत परिधानधारी
भद्र बकुल्लाहरु
र शङ्काको दृष्टिले हेर्न थाल्छन् मलाई
त्यसबखत म मनमनै गुनगुनाइरहेको हुन्छु
कविताको कुनै पङ्क्ति
असन टोलको नामुद दादा,
शासनका प्रतिष्ठित सल्लाहकारहरु
र काँडाजस्तो रौं भएका
झुसिलकीराहरु
यो वर्षको अन्तिम समयमा
अति दुःखित छन्
किनभने अचेलका युवा कलाकारहरु
शिर ठाडो पारेर हिँड्छन्
र दोब्रिएर नमस्कार पनि गर्दैनन्
हे भगवान् !
के भएको छ सांस्कृतिक क्षेत्रको
नयाँ पुस्तालाई
म चिल्लो कारभन्दा अगावै
पुग्न चाहन्छु गन्तव्यस्थल
भन्नेले भनोस्
असामान्य गतिमा हिँड्छ यो
म भोकलाई चेकझैं क्यास गर्न सक्दिनँ
तसर्थ टन्न भरिएको भकारीलाई
सहज घृणा गर्ने अधिकार छ
मेरो कलमलाई
म पाखण्डी गमलालाई
भरी बजारमा फुटालिदिन्छु
र विषाक्त पूmलहरुलाई
धुजाधुजा पारेर च्यात्छु
ताराहरु नभएको आकाशको
कुनै अर्थ छैन मेरा लागि
फलामको प्वाँख भएका
गिद्धहरु हो !
मेरो कविता अस्वीकार गर्छ
तिमीहरुको नियम, कानुन र शिष्टाचार
शहीदहरुले आफ्नो रगतको
वसियत गरेर गएका छन्
कुनै पनि देशद्रोहीका नाउँमा
एक थोपा पनि छैन
यो कसरी भयो
बर्बर तानाशाहका दलाल,
छद्म बुद्धिजीवीहरु र चाकर मनीषीहरु
आश्चर्यचकित छन्
र भूmटको ढकले तौलन खोज्दैछन्
भाषाको श्वास–प्रश्वास,
छाला र धमनीभित्रको गति
तर यो निश्चित छ
अब दुष्टहरुका साहित्यसभामा
कसैले पनि पठाउने छैन
एउटा पनि शब्द
बिक्रीमा छैन कविता
एकदिन
भयानक हुरी चलिरहेको बखत
म शान्त उभिएको थिएँ
सिंहदरबारअघिको सडकमा
मेरो व्यवहार
अत्यन्त विध्वंसक लागेछ
पृथ्वीनारायण शाहको सालिकलाई
उतिखेरै राजज्योतिषीले
पात्रो पल्टाएर
भविष्यवाणी ग¥यो
छिट्टै मर्नेछ
यो अभागी र बेबकुफ लेखनदास
कुनै भविष्य छैन यसको
कुन लेखक जुलुसमा
कति पटक हिँड्छ
र कस्ता कस्ता नाराहरु
घन्काउँछन् यिनीहरु
यहाँका तमाम शब्दकर्मीहरुले
एकसाथ कराउँदा
कति थर्कन्छ धरहराको गुम्बज
यसको तथ्याङ्क राख्ने
गुप्त फाइलका निर्माताहरु
टिप्पणीमा लेख्छन्
खतरनाक मान्छे हो यो
खाली कागजमा के के लेखिरहन्छ
र कहिलेकाहीं बीच सडकमा उभिएर
भद्दा तरिकाले सोचिरहन्छ
कवि हो यो
सरकारी गुन्डाहरु मलाई हेरेर
एकआपसका स्पष्ट–अस्पष्ट
संकेत साटासाट गर्छन्
र अन्तमा ओठ तेर्सो पारेर
विशेष प्रकारले
मुस्कुराउने गर्छन्
हुनसक्छ सत्ताको प्रिय हत्याराले
मेरो नामको गोली
भरिसकेको छ रिभल्भरको च्याम्बरमा
तर भय छैन मलाई
मेरो कविता परबाह गर्दैन तिम्रो
ओ शवका व्यापारीहरु !
म त्यस्तो व्यक्ति होइनँ
जस्तो तिमीहरुको संविधानमा
वर्णन गरिएको छ
(२०४७)