हेमनाथ घिमिरे – मेरा “पैयूँ” र तिम्रा “साकुरा”
बसन्तको आगमनसंगै
सिंगो बसन्तकै प्रतीक बनेर
पूरै वातावरणलाई नै बसन्तमय पारेर
हाँगा-हाँगामा
पात-पातमा
ढकमक्क भई
फुलेका छन्
तिम्रा साकुराहरु ।
सायद
मेरा पहाडका
कुना र कन्दरामा पनि
तिम्रा “साकुरा”का सगोत्री
मेरा “पैयूँ”हरु
फुल्ने कोशिष गर्दै होलान् ।
तिम्रा “साकुरा” झैं
ढकमक्क फुल्न नसके पनि
फाटफूट फुलेका होलान् ।
म सुन्छु
र देख्छु पिन
मेरा केही “पैयूँ” हरु
तिम्रोमा आई “साकुरा” बनेका छन्
तिम्रै “साकुरा” झैं
स्वच्छ प्रफुल्ल भई
ढकमक्क फुलेका छन् ।
मलाई गौरव लाग्छ
फुल्ने अवसर पाएमा
मेरा यी “पैयूँ” पनि
तिम्रा “साकुरा” भन्दा
कम त रहेनछन् ।
तर
कताकता डर लाग्छ
मनमा शंका पलाउँछ
कतै
मेरा यी”पैयूँ”हरु
“साकुरा” नै बनेर
यतै बिलाउने त हैनन्
आफ्ना कुनाकन्दरा
र आफ्ना सहोदर “पैयूँ” लाई
चटक्क बिस्रने त हैनन्
आशा गर्छु
मेरो यो शंका
शंका मै सिमीत रहोस् ।
कामना र आग्रह गर्छु
“साकुरा” बनेका
मेरा प्यारा “पैयूँ”हरु
आफ्ना ती कुनाकन्दरा
र आफ्ना सहोदर
ती “पैयूँ”लाई नबिसर्िउन्
र
पूनः त्यहीं गएर
ती सहोदर सबै “पैयूँ” लाई पनि
आफू झैं “साकुरा” बनाउन्
र सिंगो पहाडलाई नै
ढकमक्क फुलाउन् ।
डा. हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।