सरोज धिताल – मरुस्थलको कथा
मरुस्थल पनि हाँस्दछे
यदाकदा
पत्याउँछौ तिमी ?
मैले त देखेको छु
उषामा मरु भू हाँसेको
कलिलो घामसँग
लिएर रातो पछ्यौरी पैँचो
डराई डराई त्यो नाचेको ।
छोटो थियो उत्सव
उसको ।
दिनभरि त
ऊ फेरि ढलिरही
बालुवाको तातोमा बिचरी
निःशब्द जलिरही ।
पीडाको कराहीमा
पाकिसकेपछि त्यसरी
के हाँस्न सक्थ्यौ तिमी भए ?
मैले त देखेको छु
दिनभरिको नर्कवासपछि पनि
मरुभूमि
सन्ध्यामा फेरि हाँसेको
रातो बर्को मागेर
बूढो घामसित एक छिन्
हतार–हतार त्यो नाचेको ।
छोटो थियो तर उत्सव उसको
रातभरि त ऊ फेरि रोई रही
जूनको आँसु पुछिदिँदै
ठिहि¥याएको हातले
मनको बह पोखिरही ।
हिउँद, २०६०