डा. मोहनप्रसाद जोशी — मलाई देऊ प्रिय
घाम लागेपछि सबै देखेजस्तै,
बादल हटेपछि आकाश भेटेजस्तै
दृष्टि,
मलाई देऊ प्रिय !
सुत्न नपाएकाले निद्रा पाएजस्तै,
भोको मान्छेले पेटभर पाएजस्तै
तृप्ति,
मलाई देऊ प्रिय !
मनभित्र विचारहरु रित्तिएजस्तै,
लामो यात्रापछि घर भित्रिएजस्तै
शान्ति,
मलाई देऊ प्रिय !
पुरानो बन्दीले छुट्न पाएजस्तै,
बिझेको काँडा निस्केर गएजस्तै
मुक्ति,
मलाई देऊ प्रिय !
आमाको दूध बच्चाले पाएजस्तै,
रोग निको भएर फुर्ती आएजस्तै
शक्ति,
मलाई देऊ प्रिय !
मन्दिरमा पस्दा आँसु आएजस्तै,
आफूलाई हेर्दा आफैँ पाए जस्तै
भक्ति,
मलाई देऊ प्रिय !
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको | डा. जोशीकै ‘कहाँ छ ठाउँ ‘ नामक गीति सङ्ग्रहमा पनि समावेश भएको | सङ्गीत: न्ह्यू बज्राचार्य, स्वर: रामकृष्ण ढकाल |)