Basanta Biwas Acharya – Maile Chadhnu Chha Euta Ajanga Ko Pahad

बसन्त “विवश”आचार्य– मैले चढ्नु छ एउटा अजंगको पहाड

विस्तारै विस्तारै अँध्यारो अत्याचारवाट
उज्यालो न्यायतिर वामे सर्दै गरेको
शरणार्थी समयलाई
विषाक्त विचारको कोर्राले हिर्काउँदै
बेईमान परिवेशको धुमिल छाँयामा
किशोर उज्यालोको हत्या गर्नेहरुसंग
म विजयको वाँसुरी वजाउन सक्तिन

रित्तोपेट,स्वतन्त्रताका फुलहरु
मनभरि फुलाउदै
जीवनको जोड घटाउ वास्तै नगरि
फाटेको कछाडमा
सडक थर्काएर
बालेको यो आगोले
जबसम्म,रोल्पा र रुकुम जलाएर
काठमाण्डौलाई न्यानो दिईरहन्छ
म कसरी मेरो यात्रामा
पुर्णविराम लगाउन सक्तछु ?
सकिदैन, दरिद्र मानसिकताको भारि वोकेर
क्लियुगका कुम्भकर्णहरुसंग
काँधथापेर नयाँ युगको जग वसाल्न
त्यसैले त,
अब एक्लै गर्नु छ यात्रा
हरेक पाईलाहरुवाट नयाँ डोवहरु बनाउदै
मैले चढ्नु छ एउटा अजंगको पहाड

वासिङ्गटन र दिल्लीको गीतमा नाँचेर
वसन्त क्रान्तिको ताल नै भुल्ने
सत्ताको ललिपपमा ¥याल चुहाउदै
महान् यात्राको गन्तव्य नै तुहाउने
सुद आवरणका
अंगारे मनहरु छिचोल्दै
वेहोस युगलाई व्युताएर
मैले वाल्नु छ ,
डोल्पा र हुम्लालाई न्यानो हुनेगरि
फेरि अर्को क्रान्तिको आगो

वुद्ध आँखाहरुमा
त्रासदिको चश्मा लगाएर
समयका अक्टोपस हातहरुले
ज्तिसुकै,
किशोर युगको चित्र कोरेपनि
म रङ्ग पोत्न सक्तिन
दुईपाईला अगाडि वढ्दैमा
अहमताको फुल सिउरिएर
गन्तव्य भेटेको उत्सव मनाउने सुकिला निरोहरुसंग
हजार जँघार तरेर पनि
यात्रा आरम्भको महसुस नगर्ने
मेरो सोचाईसंग समिकरण हुन सक्दैन
विध्वँश र विद्रोहको बैरागी वादलले
सारा धर्ति अँध्यारो पार्दा पनि
बुढानिलकण्ठको मुर्ति झै
ट्वालट्वाल्ति हेर्ने
बगरे मनहरुमा
नयाँ युगको नयाँ दीप सल्काउदै
आँखा अगाडि लम्पसार सुतेको
निलो बाटो काटेर
मैले चढ्नु छ अजंगको पहाड

होसियार ,
छद्मभेषी तिम्रो परिवर्तनले
मेरा पाईलाहरु तान्न नखोज
विरक्त समयलाई
उर्जा दिने तिम्रो निजी क्रन्दन
भो, मलाई चाहिदैन
आसुँले भरिएको पोखरीमा
कमलका दीयोहरु वोकेर हिडिसके
म चढ्नलाई एउटा अजंगको पहाड ।

तुलसीपुर, दाङ्ग