Min Dwandi – Ma Hatar Ma Chhu

पाइतलाहरूको सिंढी चिन्ने
मेरो आकांक्षा तुहेको अवस्थामा
आँसुको एउटा सिंगो क्यास्पियन
बोकेर आफ्नै आँखामा
नूनिलोपनमा म डुबेको बेला
मलाई, ग्लोब घुमाएर त्यसमा
क्यास्पियन खोज्न फुर्सद छैन
अहिले त मलाई आफ्नै आँसुको
गहिराई नाप्न हतार छ ।
डढेलो बनमा पनि लागेको छ
डढेलो मनमा पनि लागेको छ
आगोका अदृश्य लप्काहरू
भोगेर आफ्नै छातीमा
पोलाईले म अतासिएको बेला
मलाई हिमाल हेरेर चिसोपनको
अनुमान गर्न फुर्सद छैन
अहिले त मलाई आफ्नै छातीको
डढेलो निभाउन हतार छ ।
प्रकाश परावर्तित हुन नसकेको
मन–औंसीको रातमा
जून भेटिने लालसा साँचेर आफ्नै ब्रम्हाण्डमा
खोजी–खबरमा म लागेको बेला
मलाई आकाशे जूनको आकार हेरेर
तिथि बिचार्न फुर्सद छैन
अहिले त मलाई आफ्नै मनको
जून खोज्न हतार छ ।
अहिले
मलाई आफ्नै आँसुको
गहिराइ नाप्न हतार छ,
अहिले मलाई आफ्नै छातीको
डढेलो निभाउन हतार छ,
अहिले मलाई आफ्नै मनको
जून खोज्न हतार छ
त्यसैले
म अहिले हतारमा छु ।