आनन्दराम पौडेल – लोकतन्त्रको आवाज
कोलाहललाई पुरेर
त्यसमाथि गरिएको ढलानमा
मचक-मचक हिंडिरहेछन् बुटहरू
बुटबाट आवाज आइरहेछ- लोकतन्त्र
(यथार्थमा आफ्नै अन्तरआत्माबाट प्रस्फुटित)
बुटको पदचापबाट ध्वनित आवाजले
सिपाही झस्कन्छ
सदियौंदेखि
मस्त सुतिरहेको
सत्ता छेवैमा छ
ढलान हेर्छ
बुट हेर्छ
कहीँ चुक छैन
सिपाहीलाई यत्ति थाहा छ-
सत्ताको ऐसआराममा
दखल पु-याउनेलाई
सिध्याउनै पर्छ
सत्ता सुकुमारी छ
कोमल गुलावी छ
सानो आवाजले पनि चोट पार्छ
झन् असन्तुष्टिको आवाज
कति कर्कश हुन्छ !
व्यथाहरू, पीडाहरू, आर्तनादहरू
झर्को लाग्ने आवाजहरू
सबै पुरिसकिएकै छ
पुराइमा शङ्का छैन
बरु यो बुटभित्र के छ ?
यो बुट बनाउने
मजदुरको अनुहार
रातो-रातो, तातो-तातो थियो
स्वर ठ्याक्कै यस्तै थियो
मजदुरलाई खोज्दै
सिपाही जति छिटो
जुत्ता कारखानातिर लम्कियो
बुटबाट त्यत्तिकै छिटो
लोकतन्त्र लोकतन्त्र आइरह्यो
त्यो शब्ददेखि तर्सेर
सिपाही झन्-झन् छिटो कुदिरह्यो ।