Hari Govinda Luitel – Kath Ko Ghoda [Nepali Bal Kabita]

पुण्टे बाबु चढेको
काठको घोडा क्या राम्रो !
लगाम, काठी जडेको
काठको घोडा क्या राम्रो !

टाउको यसको सेतो छ
पिठ्यूँ यसको पहेंलो
कालो आँखा चम्किलो
पुच्छर यसको हरियो

भाग्ला भन्ने डर छैन
लड्ला भन्ने डर छैन
हुत्याई फाल्ने डर छैन
लात्तीले हान्ने डर छैन

खाना यसले खाँदैन
दाना यसले खाँदैन
पानी दिनु पर्दैन
फोहर यसले गर्दैन

यस्तो च्याण्टे घोडामा
हाम्रो पुण्टे चढेको
मावलीघर जानलाई
भनेर अघि बढेको ।

हट्हट् बाटो छोडिदेऊ
ओर्लने बेला भा’छैन
बिहानैदेखि चढेको
कैले पुग्छ था’छैन ।