टंक सुब्बा – जिवन चित्र
यो समयको क्यान्भासमा
खै ! कसरी कोर्ने होला ?
अस्तित्वको कुचीले आफ्नै जिवनचित्र
जहाँ मैले चाहे जस्तै समयहरु
पर्याप्त छैनन्
र मैले खोजे जस्तै रङ्गहरु छैनन
म मात्र देख्छु
धमीला किरीङमिरीङ ,धर्सैधर्सा र थोप्लाहरु
मलाई लागिरहेछ मेरा लागि
पर्याप्त समयहरु यिनै हुन्
त्यसैले जीवनचित्रलाई
आफ्नै सीप र कलाले रङ्ग भर्न थाल्छु
आफ्नै मेहनत र खुशीले रङ्ग पोख्न थाल्छु
र जीवनलाई मूर्तआकृतिमा
उतार्ने प्रयास गर्छु
जीवनको फैलावटमा आउँने
दुख कष्टहरुलाई कुल्चदै
स्वतन्त्र बिचार उभ्न खोज्छु
स्वतन्त्र भावना बाँच्न खोज्छु
तर हरेक नयाँ समयले
नयाँ रङ्ग घोप्ट्याई दिन्छ
र नयाँ रङ्गीन दिनको सुरुआत गरिदिन्छ
तिनै दिनहरुसँग रम्न थाल्छु
आत्मियता गाँस्न थाल्छु
क्षणहरुसँग घोलिन थाल्छु
तव सोच्छु जीवनलाई
कस्ता दिनहरुसँग सामेल गराउँ ?
जहाँ चाहे जस्तै दिन बिताउँन पाईयोस्
जहाँ ब्यवधानहरुलाई कुल्चिन सकियोस्
यसरी म सरल ढङ्गले सोचिरहन्छु
अस्तित्व र जीउँनुलाई जीवनसँग जोडेर सोच्छु
सोच्दासोच्दै दिवास्वप्ना देख्न थाल्छु
त्यहाँ पनि यथार्थ भोगाईहरु अनुभव गर्छु
सवै कुरा उस्तै पाएपछि
लाग्यो समयको रङ्ग
जहाँ पनि उस्तै हुँदोरहेछ
तसर्थ समयको क्यान्भासमा
अनेकौं रङ्गहरुले उदाएका दिनहरु
छाम्न खोज्दा अनायासै वद्ली दिन्छन्
तर पनि आफ्नै हिसावले बाँच्नुको आयतनमा
उपायका हातहरुले निरन्तर रङ्गार्इरहेछु
आफ्नै जिवनचित्र