डम्म फैलिएका छन् सदियौं देखि
फूलबारीमा थरिथरिका झारहरू
तुलसी उखेलिने डरले
हिन्दुहरू झार नउखेल्न भन्छन्
जीवहत्याको डरले
वौद्धहरू झार नउखेलौ भन्छन्
कुरान साक्षी राखेर
मुस्लिम मरूभूमिमा झार बचाऔं भन्छन्
चिहानमा रोपेका विरूवा उखेलिने डरले
इसाई झार नउखेल्न भन्छन्
यसरी नउखेलिदा झारहरू बर्षौसम्म
अचेल झारहरू जुलुस गरी रहेछन्
फूलहरू विस्थापित फूलबारीमा
कहिलै माली बन्न नसकेका बन्दुकहरूले
फुल जसरी फूलेका झारहरू देखाएर
फूलबारीमा आरक्षण मागेका छन्
पेशेवर खैरा सिकारीहरू
देखाएर वातावरणका कुरा
झार जोगाउन उपदेश दिइरहेकाछन्
एक हुल छद्म खेलाडीहरू
खेलका लागि मैदानमा झार हुनैपर्छ भन्छन्
अर्को कुनाबाट चर्न निस्केका एकहुल ध्वंसक पशुहरू
उठाउँदै गाँसको गम्भीर प्रश्न
मैदानमा झार रहनै पर्छ भन्छन्
झार उखेल्ने वर्कत हराएको
एउटा बृद्ध आलंकारिक किसान
भोका सन्ततीको अग्रपङ्तीमा
झारै झारले ढाकेका बाँझो खेतनेर
पुर्ख्यौली मौजाबाट लखेटिएको जमिनदार जस्तै
अलमल्ल उभिएको छ
झारका व्यवसायीहरू हडपेर किसानका मञ्चहरू
देखाउँदै फूलजस्तै देखिने झारहरू
आँखा थुनेर चर्को स्वरले भनिरहेछन्
कहिले अन्त हँदैन झारहरूको
– खेतमा बारीमा वा बाटोमा
– मन्दिरमा घरमा वा अफिसमा
– टावरमा पुलमा वा बाँधमा
के हामी चुपचाप हेरिरहन सक्छौं?
हाम्रै शरीरमा उम्रेका
ऐंजेरू जस्ता यी विशालु
थरिथरिका झारहरू।