Min Dwandi – Jaitun Ra Parewa

भोको पेटले भोकै देख्छ स्वयम्भूका आँखाहरू
नांगो आँतले नांगै देख्छ निंदमा पनि सपनाहरू
म भोको छु, केवल खाने बस्तु सोच्न सक्छु
म नांगो छु, केवल लाउने बस्तु सोच्न सक्छु
म भोकले मरणासन्न अवस्थामा
कसैले आकाशमा उडाएर परेवाहरू खेर नफाल्नू
किनकि तिनबाट मेरो केही छाक टर्न सक्छ
म जाडोले मरणासन्न अवस्थामा
कसैले जैतुनको हाँगो ल्याएर नओढाउनू
किनकि, त्यसको चिसोले यो ज्यान मर्न सक्छ ।