Chanki Shrestha – Hatiyar Nirmata

प्रागइतिहास साक्षी छ-
फलामको सुदर्शन चक्रबाटै विन्ध्याचलमा मारिएका थिए सुदाम
जो आर्यावर्तमै फलामका सबभन्दा पोख्त कारिगर थिए
फलामकै हतियार निर्माता लोहासुर
दोस्रो पल्ट मारिएका थिए फलामको हतियारबाट
र, त्यो तरबार पनि फलामकै थियो
जसलाई अर्जापेर
महाराज रामबाट कलमी गरिएको थियो शम्बूकको शिर ।

त्यसपछि पनि अरु कैयन् कैयन्
फलामका हतियार निर्माताहरू मारिए
फलामकै हतियारबाट ।

तिनैबाट निर्मित हतियार खोसेर
गरिएको थियो तिनीहरूको हत्या
जसले विपत्मा सापटी दिएका थिए हतियार ।

(आफ्नै हतियारबाट भएन कहिल्यै तिनीहरूको सुरक्षा
आफै बाट निर्मित हतियार कहिल्यै तिनीहरूको आफ्नै भएन ।)

आर्यावर्तको यस पावन भूमिमा
सुदूर अतीतबाट साभार भएर
घुमिरह्यो समयको चक्र बारम्बार
जहाँ गुरुमाता अहिल्यालाई अपहरण गरेर
बीच सडकमै बलात्कार गर्छन् महाशक्तिशाली महाराज इन्द्र
जहाँ अपराध पनि शक्तिशालीहरूका लागि
भइदिन्छ अधिकार ।

युगअनुसार बदलिने हावाको झोकासँगै
निरन्तर पल्टिरहेछन् समयका पानाहरू
र, लोकतन्त्रको मध्यान्तरमा
हतियार निर्माताहरू
आज आफ्नै लागि हतियार बनाइरहेका छन् ।