Hari Govinda Luitel – Hamro Kulekhani [Nepali Bal Kabita]

कति धेरै पानी
हाम्रो कुलेखानी
माछा छानीछानी
हाम्रो कुलेखानी

अग्लो बाँधले छेकेर
खोला पूरै थुनेको
डाँडो सिंगै छेडेर
लामो सुरुङ खनेको

सुरुङभरि पानी छ
भित्रभित्रै बगेको
डाँडैडाँडा काटेर
भिरालोमा झरेको

झर्दै गर्दा पानीले
जोड्ले ठक्कर खा’को
ठक्करले मेसिनको
घट्ट घुमा’को

झिलीमिली बिजुली
त्यसैबाट निस्केको
तारैतारमा बगेर
शहरसम्म फैलेको

बिजुलीको खानी
हाम्रो कुलेखानी
हेर हेर नानी
हाम्रो कुलेखानी !