Jagat Nabodit – Hami Bhari Bokirahechhaun

जगत नवोदित – हामी भारी बोकिरहेछौँ
(मधुपर्क २०६६ चैत)

समयको प्रत्येक पलसँग
विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ
निर्धो बस्तीमा
सन्त्रासको आगो सल्किँदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जब एकताको सगरमाथा भत्किँदैछ
गएका वर्षहरू हामीले
खेतबारीभरि अशान्ति रोप्यौँ

ढुकुटीभरि शोक भित्रायौँ
हाम्रो बगैँचामा
केवल आसुँका दानाहरू फले
फूलबारीमा पनि उसै गरी
आसुँका थुँगाहरू फुले
हामीले हाँस्न खोजेको निरीह हाँसो
हाँस्नै नपाई हराएर गयो
शक्तिको इलाका वाजी मार्न
सक्नेहरूले साधुगाईलाई घोडा बनाए
आफूजस्तै मान्छेको हत्या गरेर
आफूलाई विजयी ठहर्‍याए

केही अधर्मी हत्याराहरू
सज्जनताको छाला ओढेर बसेका छन् ।
उफ्,
खसीको टाउको राखेर
कुकुरको मासु बेच्नेहरू
व्यापार दुर्गन्धित बनिरहेछ
अगाडि निगुरमुन्टी झुकेर
पछाडि कोखमा छुरा रोप्नेहरू
मानवता दङदङती गनाइरहेछ
वियरको चुस्की धोकेर
पानी पिएको रिपोर्ट लेख्नेहरू
जताततै अनियमितता बगिरहेछ
खोला धमिल्याएर
माछा मार्न अवसर छोप्नेहरू
सडकमा राजनीति नाङ्गरिहेछ
भावीले लेखिदिएको
भाग्य सम्झेर हामी गधाहरू
पुस्तौँपुस्ता हिँड्यौँ
खाली खुट्टा यो बगर
रिनको भारी बोकेर हिँड्यौँ
पीरको भारी बाकेर हिँड्यौँ
दुःख गरे सुख मिल्छ भनेर हिँड्यौँ
तर,
निर्घात् समयले कुल्चिएर
हिँडिरहृयो हाम्रो सपना
पीडा ओढेर निदाएका हामीलाई
पीडा थपेर हिँडिरहृयो समय
हुँदा-हुँदा एक हरक सास फेर्ने
अधिकारमा समेत
हामीलाई हस्तक्षेप गर्‍यो यो समय
समयको रङ फेर्न
के मात्र गरेनौं यो माटोमा ?
कहिले कालो कोठामा
हत्कडीसँग सङ्घर्ष गर्‍यौँ
कहिले घरबार त्यागेर
निर्वासित जङ्गली भयौँ
बलिदानीको के कुरा गर्नु ?
जीवन समर्पण गरेर सहिद भयौँ
कहाँ गयो हाम्रो रगतको मूल्य ?
कहाँ हरायो हाम्रो पसिनाको मान्यता ?
के हिसाबकिताब छ हाम्रो जिन्दगीको ?

यो माटोमा
यसरी भारीसँगै जन्मेर भारीसँगै मर्नुछ
हामी गधाहरू
सतीले सरापेको यो देशमा
अब च्यातेर धुजा-धुजा गलत इतिहासका पानाहरू
लेख्ने अठोट छ नयाँ इतिहास
हामी सदिऔंदेखिका गधाहरू
यतिबेला भारीसँगै आन्दोलनमा छौँ ।

लफ्याङ-४, खोटाङ
हालः स्टाफोर्डसायर, बेलायत