ॠतु आसीक – ग्रेटवाल
झरी वादल वतास ओढेर
असंख्य वर्षदेखि
उभिरहेको छ ग्रेटवाल
निर्दोष निमुखा बबुराको हत्यामा रमाएर
आफूलाई मपाई भनाउने वादशाह
लासै लासको खेती भित्र्याएर
सुत्केरी आमाको उत्पीडन
छोराको रोदन
पत्नीको वियोग
बाबुको वात्सल्यता
केही थाहा नपाए जस्तो गरेर
मुखभित्र पानी थुपारेर
निल्नु र ओकल्नुको दोधारमा परेर
यता जाउ कि उता जाउ भन्दै
लाखौ निर्दोषको रगतको आहालमाथि
ओथारो बसिराखेको छ ग्रेटवाल
हतार -हतार ब्यूझिएर
आँखा मिच्दै
के विर्सिएको के छोडिएको जस्तो गरेर
लाटाले पापा हेरे झैँ हेरिरहेको छ ग्रेटवाल
बिहानी पख
पर्खाल नजिक आएर
स्वरहरु सल्बलाउदै प्रश्न गर्छन
मेरो छोरो आयो कि ?
मेरो प्रियातामालाई देखेउ कि ?
मेरो आमालाई देखेउ कि ?
पर्खाल केही बोल्दैन
मुटुभरी उकुस मुकुस बोकेर
पर्खाल भित्र भित्रै ज्वालामुखी भैरहेको छ |
वाक स्वतन्तत्रता
सुसूचित हुने अधिकार
विरालोले विस्टा लुकाए झैँ लुकाई रहेको छ|
भन्न सकिरहेको छैन
तिम्रा आफन्तलाई नखोज यहा
तिम्रा आफन्तको लासमाथि
तिम्रा प्रियजनको खूनमाथि
म उभिएको छु |
मेरो सुन्दरता कुदिएको छ |
निर्दोषहरुको लासमाथि
निमुखाको रगतमाथि
मेरो सुन्दरता पौडी खेलिरहेको छ |
आत्मग्लानीले सधै निगुर्मुन्त्ते हुनु परेको छ |