Sabina Sindhu – Ghantaghar Ra Sapana

सबिना सिन्धु – ‘घण्टाघर र सपना’

प्रत्येक दिन नयाँ प्रणयसाथ
म उभिन्छु घण्टाघरझैं
समयले अँगाल्छ मलाई ।
र रातमा पोल्टटाभरीका
जून निलेर निदाउँछु ।
घण्टाघरले फेरी
रातको बाह्र बजाउँछ
म झलमल्ल
घामको सपना देख्छु
निन्द्रामै छट्पटिन्छु
जीवनका कलिला हाँगाहरुमा
फेरी
उभिन खोज्छन् मेरा रहरहरु
मेरा नपुङ्सक सपनाहरु
फेरी घण्टाघरको घडिसँगै
पछि दौडन खोज्छन्
म नबोली नबोली
मिठो सपनी देखिरहन्छु
जीवनहीन जीवन बाँचिरहन्छु
मृत्युपत्रमा
हस्ताक्षर गर्न नचाहेर ।

व्यँुझिएर घडि हेर्छु
एउटा सङ्ग्तिमय सुरुवात
फेरी सम्प्रेषित हुन्छ

म केही होइन
संसार केही होइन
टेबुलबाट घडि उठाउँछु
कैद गर्छु
मेरो नाडीमा कैद हुन्छ
ठिङ्ग उभिएको घण्टाघर ।