Mohan Duwal – Gham Nabhayeko Bhaye

मोहन दुवाल – घाम नभएको भए !
(मधुपर्क २०६६ असोज)

निःस्वार्थ मुस्कान बोकेर
आफूई समर्पित तुल्याउन जानेका
घाम नभएको भए
मान्छेले कोबाट के सिक्ने हुन्
भनूँ गाह्रो हुन्छ
नभनूँ आफैँलाई अप्ठ्यारो हुन्छ
म घाम उदाएको हेर्न रुचाइरहेँछु
घाम नभएको भए
उज्यालोमाथि पनि सङ्कट थपिँदो पो हो
कस्तो विवेकहीनजस्ता देखिन्छन् मान्छेहरू
किन भत्काउन र भत्किन चाहन्छन् मान्छेहरू
सूर्य-किरण घाम नभएको भए
मान्छेहरू कस्ता देखिँदा हुन् यहाँ अचेल
म घामसँग स्पष्ट प्रश्न राखेर
मान्छेका मुहार कस्ता छन् सोधिरहेँछु ।

घाम खुल्न पो जान्छन्
घाम फिँजिन पो खोज्छन्
घाम न्यानो प्रकाश पो बाँड्न रुचाउँछन्
मान्छेले जस्तो चियोचर्चा गर्न
खोई घामसँग फुर्सद…. ?
मान्छेले जस्तो षड्यन्त्र रोप्न नजानेकैले
घाम फिँजाइरहेछ प्रकाशमा आफूलाई राखेर
उज्यालोकै विरोधमा जुलुस गर्दैछन्
त्यसैले म सोध्न रुचाइरहेँछु
घाम नभएको भए के हुन्थ्यो ?
आजभोलि मान्छेका अनुहार हेरिरहेँछु ।

-बनेपा