Dil Sahani – Ghaaite Briefcase

दिल साहनी – घाइते ब्रिफकेश

मल्लयुद्धमा परेको ब्रिफकेश
चक्रव्यूहमा परेको ब्रिफकेश
कुरुक्षेत्रमा परेको ब्रिफकेश
लुछालुछमा परेको ब्रिफकेश
तानातानमा परेको ब्रिफकेश
खोसाखोसमा परेको ब्रिफकेश
हानाहानमा परेको ब्रिफकेश
च्यातिएको ब्रिफकेश
टुक्रा टुक्रा भएको ब्रिफकेश
धुजा धुजा भएको ब्रिफकेश
चार्ल्सप्रथमको जस्तै
टाउको उडेको ब्रिफकेश
लुइस सोह्रौंको जस्तै
टाउको गिंडिएको ब्रिफकेश
मेरो देशको भूगोल जस्तो
चिथोरिएको ब्रिफकेश
मेरो देशको दुरुस्त विगत जस्तो ब्रिफकेश
मेरो देशको दुरुस्त बर्तमान जस्तो ब्रिफकेश
काटीकुटी
मेरो देशको दुरुस्त पहिचान जस्तो ब्रिफकेश
चर्चित ब्रिफकेश
हाम्रो सर्वस्व बनेको ब्रिफकेश
हाम्रो भविष्य बोकेको ब्रिफकेश
शालीन संसद भवनमा
भकुण्डो खेलिएको ब्रिफकेश
ऐतिहासिक ब्रिफकेश
हो, निकै सजाएर राख्नु पर्दछ संग्रहालयमा
निकै जतन गरेर राख्नु पर्दछ संग्रहालयमा
पुजेर राख्नु पर्दछ संग्रहालयमा
प्रदर्शनको लागि राख्नुपर्दछ
अवलोकनको लागि राख्नुपर्दछ
चिन्तन मननको लागि राख्नुपर्दछ
दर्शन दिर्ग्दर्शनको लागि राख्नुपर्दछ
ज्ञान बिज्ञानको लागि राख्नुपर्दछ
अध्ययन अनुसन्धानको लागि राख्नुपर्दछ
यस कारण पनि राख्नुपर्दछ
यसलाई एकपल्ट नजर गरेपछि
कुनै जंगबहादुरले
फेरि
फेरि
आफ्रनै हैसियत बिर्सेरे
आफ्नो भूमिका बिर्सेरे
आफ्नो काम कर्तव्य र अधिकार बिर्सेरे
आफ्नो सीमा र सांध बिर्सेर होक्का गर्दै
श्रीपेच बिनाका महाराजको
लालमोहर ठोकेको
ब्रिफकेश बोकेर
जबरजस्ती प्रस्तुत हुने हिक्मत नगरोस्
दुस्साहस नगरोस्
मेरो देशको संग्रहालयमा
निकै सजाएर राखेको ब्रिफकेश
निकै जतन गरेर राखेको ब्रिफकेश
हिरोसिमा र नागासाकीको पीडा भोगेको ब्रिफकेश
ऐतिहासिक ब्रिफकेश
मसान जस्तै मध्यरातमा
मुलुकको अस्मिता नै खल्बलाउने गरी
सल्बलाउनेहरुको निम्ति मात्र होइन
चोरबाटोमा चल्ने
यो सारा संसारको लागि समेत
एउटा राम्रो नजीर बनोस् ।