रुपेश राई – गाउँ विउँझेर
गाउँ विउँझेर शहर तर्सियोस् ।
दानाहरू,
लाम्चिलो, डल्लो
केही सानो, ठूलो पनि
प्रयास गर्दैछु, छुट्ट्याउने ।
‘वीरबहादुर’हरू,
गाउँका, गरा बिराउँदैछन्
रोप्नलाई क्रान्ति, भुँड़ि अघाइन्जेल ।
‘वुद्धिमान’,
सुटुक्क, शहर रोप्न भन्छन्
अरू, के…के पनि !
पापा, शहर कसरी बस्यो होला ?
यो, उत्तर दिनु छ
शहरबाट गाउँ चियाएर
गोजिमा ‘न्यानो’ हात घुसारेर ।
म,
आफैलाई हेरदैछु
मान्छे उभिएर
गुन्द्रुकको सुप पनि पिउँदैछु ।
अलिक त….ल देख्दैछु
बगर खोला पटक्क नमिलेको
किन होला ?
उसले धर्ती थुक्यो,
मैले आकाश थुके । अनुहार भिज्यो
सोच्दैछु किन भिज्यो ?
शृङ्खलित विशृङ्खलताले हो कि
साक्षर अशिक्षितताले हो !!
तर..अहो !
पार्थक्य देख्दैछु, गाउँ शहर माझ ।
यसैले त!
गाउँ बिउँझेर शहर तर्सियोस्
विकासले माला उनियोस्
शिक्षाले सन्दुक बनियोस् ।।
(शहर, गाउँतिर पस्दैछ रे)
दार्जीलिङ